काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् ।
भारतले नयाँ संसद् भवनमा नेपाली भूमि समेटिएको ‘अखण्ड भारत’ को नक्सा राखेपछि सोही नक्साको विरोध स्वरूप बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् ।
मेयर बालेन हाल भारतको बैंगलुरूमा छन् । उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएको महानगर स्रोतले बताएको छ । स्रोतका अनुसार मेयरको कार्यकक्षमा बिहीबार नयाँ नक्सा राखिएको हो ।
भारतको हालै उद्घाटित नयाँ संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ। सोही नक्साको विरुद्ध नेपालमा व्यापक विरोध भइरहेको छ ।




















