काठमाडौं । नेपाल सरकारको नमुना विद्यालयका रूपमा छनोट भएको बुढानीलकण्ठ–१० कपनस्थित बालउद्धार माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार भव्यतापूर्वक सम्पन्न भएको छ ।

प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापा, नेपालका लागि चीनका राजदूत चेन सोङ, प्रदेशसभा सदस्यहरू जयराम थापा, मिना पराजुली, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडाध्यक्षहरू नवराज भट्टराई एवं शम्भुप्रसाद भट्टराई, स्थानीय तहका विभिन्न जनप्रतिनिधिहरू, विभिन्न पार्टीका प्रतिनिधिहरू, अक्षयकोष दाताहरू, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरूलगायत पूर्वप्रधानाध्यापकहरू, शिक्षासेवी, समाजसेवी, विद्यालयका अभिभावकहरू, विद्यार्थीहरू तथा शिक्षकशिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख घिमिरेद्वारा पानसमा दीप बालेर उद्घाटन गरिएको सो कार्यक्रममा संघीय सांसद गगनकुमार थापा, प्रदेशसभा सदस्य जयराम थापा, बुनपाका नगरप्रमुख मिठाराम अधिकारी, नगरप्रवक्ता एवं वडाध्यक्ष नवराज भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रवप्रसाद घिमिरे, प्रधानाध्यापक विनोद पण्डितले आ–आफ्नो मन्तव्य राखेका थिए ।

प्रमुख अतिथिका रुपमा रहनुभएका सभामुख घिमिरेले देशमा राजनीतिक परिवर्तनसँगै स्थापना भएको बालउद्धार माध्यमिक विद्यालयले समयक्रमसँगै नमुना विद्यालयमा छनोट भई शैक्षिक गुणस्तरमा महत्वपूर्ण योगदान पु-याएकोमा बधाई एवं आगामी दिनमा अझै शैक्षिक उन्नयनमा अगाडि बढ्न शुभकामना दिए ।
सभामुख घिमिरेले भने, ‘नेपालमा बालबालिकालाई सही ढंगबाट गुणस्तरीय शिक्षा प्रदान गरेर त्यसलाई व्यवहारमा लागू गर्न सकेको खण्डमा बालबालिकाको उद्धार र विकास हुनेमा कुनै शंका छैन ।’
सो कार्यक्रममा काठमाडौं क्षेत्र नं. ४ का संघीय सांसद गगनकुमार थापाले विद्यालयले छोटो अवधिमा गरेको द्रुत प्रगतिका लागि विद्यालय परिवारलाई बधाई दिँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुको विकल्प नभएको बताए ।

सांसद थापाले भने, ‘सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा एक्लो प्रयासले मात्र सम्भव छैन, त्यसैले सबै एकजुट भई अगाडि बढ्नुको विकल्प छैन ।’
कार्यक्रममा नेपालका लागि चीनका राजदूत सोङले विद्यालयले ३४ वर्षे अवधिमा यस क्षेत्रमै गुणस्तरीय शिक्षा प्रदान गरेकोमा बधाई दिँदै खुसी व्यक्त गरे ।
सो कार्यक्रममा बुनपाका नगरप्रमुख मिठाराम अधिकारीले विद्यालयको शैक्षिक उन्नयनका लागि नगरपालिका सदैव चनाखो रहेको र आफ्नै घरआँगनको विद्यालयको उन्नति, प्रगतिमा सदैव साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिकोत्सव कार्यक्रममा बुनपाका नगरप्रवक्ता एवं १० नं. वडाका वडाध्यक्ष नवराज भट्टराईले विद्यालयको भौतिक, शैक्षिकलगायत विकासमा विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा अझ बढी सहयोग रहने बचनबद्धता व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले विद्यालयको भौतिक, शैक्षिकलगायत चौतर्फी विकास गर्न योगदान गर्ने विभिन्न सामाजिक संघसंस्था, शुभेच्छुक एवं शिक्षकहरूप्रति आभार प्रकट गर्दै आर्थिक अभावका कारण बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन विद्यालय व्यवस्थापन समिति प्रतिबद्ध रहेको बताए । उनले विद्यालयको भौतिक, प्रशासनिक र शैक्षिक गुणस्तर सुधारमा आफू अहोरात्र लागेको र भविष्यमा पनि लागिरहने विचार व्यक्त गरे । उनले भने, “मैले यो विद्यालयका लागि बिदाका दिनबाहेक घन्टौँ सेवा गरेको छु र भविष्यमा पनि गरिरहनेछु ।”

कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान दिने आठजना शिक्षकहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुने शिक्षकहरूमा माध्यमिकतर्फ शोभा गिरी, उदयराज कार्की, पदम पौडेल, मनोजकुमार खतिवडा, कृष्णप्रसाद दाहाल छन् भने आधारभूतबाट पद्मा सुवेदी, शारदा खत्री र रमलादेवी शर्मा रहेका छन् ।


त्यसैगरी कार्यक्रममा अक्षयकोष दाताहरू डोरप्रसाद आचार्य, कमला राना मगर, देवी रेग्मीलगायतलाई पनि सम्मान गरिएको थियो । त्यस्तै विद्यालयबाट अवकासप्राप्त शिक्षकहरु मन्जु रेग्मी आचार्य, इन्दिरा रेग्मीलगायतलाई पनि सम्मानित गरिएको थियो । सोही कार्यत्क्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा अक्षयकोषदाताले अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरेका थिए ।



दुई सत्रमा सञ्चालित सो कार्यक्रमको औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका विज्ञान शिक्षक सन्तोष लुइँटेलले गरेका थिए भने अनौपचारिक कार्यक्रमको सञ्चालन शिक्षक अनामिका अधिकारी र विद्यार्थीहरू रञ्जित तामाङ र प्रयुषा पोखरेलले गरे । भव्य एवं सभ्य रुपमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा नृत्यमार्फत् अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।




















