
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको थियो ।

यसैवीच डिल्लीबजार, घट्टेकुलो काठमाडौंमा अवस्थित सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलमा विगतका वर्ष झै यस वर्ष पनि वातावरण दिवसमा विविध कार्यक्रम गरी मनाएको छ ।

विद्यार्थीहरुलाई वातावरण प्रदुषणले मानव स्वास्थ्यका साथै सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत पर्ने गम्भीर असरलगायतका विषयमा जानकारी दिनुका साथै वातावरण प्रदुषण रोक्ने उपायहरुका बारेमा जानकारी दिइएको थियो ।
साथै वातावरण प्रदुषण हुनुका कारण, यसलाई रोक्ने उपाय र अपनाउनु पर्ने सजगत लगायतका विषयमा शिक्षक, विद्यार्थीहरुले प्रदर्शनी, नृत्य, गायनलगायतका कार्यक्रम गरेका थिए भने विद्यालय क्षेत्रमा वृक्षारोपण पनि गरिएको थियो ।

नेपालको संविधानमा हरेक नागरिकलाई स्वच्छ वातावरणमा वाच्न पाउने मौलिक हकको प्रत्याभूत गरे पनि नागरिक स्वच्छ वातावरणबाट वञ्चित भएको वताउँदै सो बोर्डिङ स्कुलका प्रिन्सिपल लक्ष्यबहादुर केसीले बढ्दो वातावरण प्रदूषणलाई रोक्न राज्यका साथै आम मानिसले पनि आआफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताएका छन् ।

वातावरण प्रदुषण हुनबाट रोक्न सबैले आ–आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुका साथै वन, जल, वनस्पति, जीवहरूको संरक्षण गर्नुपर्नेलगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको र आफ्ना अभिभावकहरुलाई पनि सम्झाउन आग्रह गरिएको प्रिन्सिपल केसीले बताएका छन् ।





















