काठमाडौं । नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइ भइरहेको छ।
बिहीबार वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ‘विवादित’ नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो । यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित फिर्ता गर्नुभएको थियो । तर त्यसपश्चात कुनै बुँदामा संशोधन नगरी तत्कालीन कांग्रेस-माओवादी गठबन्धनले संसदबाट पारित गर्ने निर्णय गरेर बहुमतले पारित भएपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो ।
अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि प्रमुख प्रतिपक्ष दललगायतले विरोध गरिरहेका छन् ।



















