काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिले उत्साहित भएको बताएका छन् ।
चार दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग नेपाल-भारतबीचको सीमा समस्या समाधान हुने कुरामा विश्वस्त रहेको बताए ।
प्रधानमन्त्रीले दाहालले भने, ‘नेपाल र भारतबीचको सीमा समस्याबारे हामी सबैको चिन्ताको विषय हो । यसबारे मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुरा राखेको हुँ । यदि सीमा समस्या समाधान नभए ठीक हुँदैन भनेपछि उहाँले कसरी हुन्छ समाधान गरौं भन्नुभयो । उहाँले संयुक्त पत्रकार सम्मेलनमै सीमा समस्याबारे अभिव्यक्ति दिनुभएको छ। सीमा समस्या समाधान हुने कुरामा विश्वस्त छु।
उनले नेपाल र भारतबीच पुरानो र घनिष्ट सम्बन्ध रहेको भन्दै त्यहाँका राष्ट्रपति र उपराष्ट्रपतिसँग द्विपक्षीय हितका विषयमा छलफल भएको बताए । उनले भ्रमणका दौरान विद्युतीय क्षेत्रमा दीर्घकालीन सम्झौता भएको र त्यसले विद्युतीय क्षेत्रमा नयाँ आयाम थपिएको बताए ।
उनले एयर रुटका विषयमा पनि छलफल भएको बताए । उनले एउटामात्र होइन, भारतबाट कम्तिमा तीन एयर रुटका विषयमा छलफल भएको बताए ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले गेरुबस्त्रबारे प्रस्टीकरण दिएका छन् । उनले आफू मनैदेखि धर्मनिरपेक्षतावादी भएको बताए । तर आफू धर्मविरोधी नभएको उनको भनाइ छ ।
चारदिने भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले उज्जैनको महाकालेश्वर मन्दिरमा गरिएको पूजाबारे गलत टिप्पणी गरिएको बताए । उनले आफूले प्रोटोकल मानेको स्पष्ट पारे ।



















