सिन्धुली । शुक्रबार सुनकोशी नदीमा स्कारपियो खस्दा बेपत्ताहरुको शनिबार बिहानैदेखि खोजी कार्य जारी रहेको छ ।
शुक्रबार साँझ अबेरसम्म खोजी गरिए पनि गाडी र बेपत्ताको कुनै टुङ्गो नलागेपछि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरी, स्थानीयको संयुक्त टोलीले शनिबार बिहानैदेखि खोजी कार्य थालेको हो ।
काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्न मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो ।
दुर्घटनामा (सीटीईभीटी) का प्रशासन निर्देशक भानु नगरपालिका ९ तनहुका वर्ष ५७ का कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका ७ पूर्वी नवलपरासीका वर्ष ५६ का यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका ५ ईलामका वर्ष ३२ का भानु पौडेल बेपत्ता छन् । उनीहरू खोटाङस्थित प्राविधिक शिक्षालयको अनुगमनका लागि जाँदै थिए ।
बेपत्ताहरुको खोजीका लागि शुक्रबार नै काठमाण्डौंस्थित सिनामंगलबाट आएको शसस्त्र प्रहरीको गोताखोरको टोली, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको सिन्धुलीका प्रहरी प्रमुख राजकुमार सिलवालले बताए ।
जीपका चालक राप्ती गाउँपालिका ६ दाङका वर्ष ३१ का कृष्ण चौधरी सुनकोसीबाट पौडिएर निस्कन सफल भएका थिए । उनलाई खुर्कोटस्थित शुभजिवन सामुदायिक अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । उनको मुख र हातमा चोट लागेको थियो ।
स्कारपियोका चालक चौधरीका अनुसार गाडीमा ब्रेक फेल भएपछि सडकको भित्तामा ठोक्किएर सुनकोशी नदिमा खसेको थियो । चौधरीको उपचारपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । स्कारपियो सडकबाट १५० मिटर तल नदीमा खसेको थियो ।




















