काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुसँग वयान लिने प्रक्रिया आजबाट शुरु हुने भएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको अदालती बयान आजबाट सुरु हुन लागेको हो ।
यो प्रकरणमा पक्राउ पर्नेहरुमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप रायमाझी, पूर्वगृह मन्त्री बालकृष्ण खाँण, उहाँका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, डा.ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमसेर मिया, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ, गोबिन्द कुमार चौधरी, रामशरण केसी र पूर्वसभासद आङटावा शेर्पा रहेका छन् ।
त्यस्तै फरार केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरले, धिरेन राई, दिपा हुमागाईँ, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरन्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापालाई पनि प्रतिवादी बनाइएको छ ।
प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सोमबार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोडभन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।
राज्य विरुद्धको अपराध, सङ्गठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्दा दर्ता गराइएको छ ।