पोखरा । देशमा निर्माण भएका मातृभाषाका चलचित्रले प्राथमिकता पाउन नसकेको भन्दै राष्ट्रियता जोगाउन पनि त्यस्ता चलचित्रको प्रवर्धन गर्नुपर्नेमा जोड दिइएको छ । ‘मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावना’ विषयक बहसका वक्ताहरूले राष्ट्र र राष्ट्रियता जोगाउन मातृभाषाका चलचित्रको भूमिका महत्वपूर्ण हुने बताएका हुन ।
चलचित्र पत्रकार सङ्घ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा शनिबार आयोजित विशेष संवाद कार्यक्रममा राज्यको प्राथमिकतामा मातृभाषाका चलचित्र पर्न नसकेको वक्ताहरूको भनाइ छ ।
चलचित्र निर्देशक कृष्णकुमार गुरुङले जबसम्म राज्य उदार भएर लाग्दैन तबसम्म भाषाभाषीका चलचित्र आम जनमानससम्म नपुग्ने बताउँदै राष्ट्र र राष्ट्रियतालाई जोगाउन मातृभाषाका चलचित्रको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् ।
विसं २०५२ बाट गुरुङ चलचित्र निर्माणको थालनी भएको जानकारी गराउँदै उनले हालसम्म एक सय ६० चलचित्र निर्माण भएको बताए । विसं २०७४ सम्मको अवधि गुरुङ चलचित्रका लागि समस्याजनक रहेको उल्लेख गर्दै उनले २०७५ पछि केही समय सन्तोषजनक अवस्था रहेता पनि कोभिडपछि भाषाभाषीका चलचित्र निर्माणमा फितलोपन आएको बताएका छन् ।
नेपालको रैथाने कथालाई प्रस्तुत गर्दा पनि समुदायभन्दा माथि भाषाभाषीका चलचित्र नउठ्नुमा राज्य प्रणालीको कमजोर नीति भएको बताउँदै उनले भने, “जबसम्म मातृभाषामा बन्ने चलचित्रका लागि राज्य उदार भएर लाग्दैन तबसम्म भाषाभाषीका चलचित्र च्यारिटी बेसमा नै सीमित रहनेछन् ।”
मातृभाषाका चलचित जनतासम्म पु¥याउनुपर्नेमा जोड दिँदै निर्देशक गुरुङले भने, “हामीले त गाउँ–गाउँका कथालाई प्रस्तुत गर्न खोजेका छौँ । लगानी पनि थुप्रो भएको छ तर कमजोर नीतिले हामीलाई थिचेको छ । जबसम्म राज्य उदार भएर लाग्दैन तबसम्म भाषाभाषीका चलचित्र आम जनमानससम्म पुग्दैन ।”
त्यस्तै मगर चलचित्रका निर्देशक एवं लेखक मेजन पुनमगरले मातृभाषामा मगर चलचित्र सबैभन्दा पहिला निर्माण भएको जानकारी दिएका छन् । विसं २०५१ देखि मगर भाषामा चलचित्र निर्माण भएको र त्यसको निरन्तरता आजसम्म कायम रहेको उनको भनाइ छ । मातृभाषाका चलचित्रलाई संरक्षण गर्न राज्य नै प्रभावकारीरूपमा लाग्नुपर्ने आवश्यकता रहेको उनको तर्क छ ।
त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले मातृभाषाका चलचित्रको संरक्षणमा काम गरिरहेको जानकारी गराउँदै यस सङ्घ सम्बन्धित संस्थालाई सँगै लिएर हिँड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मातृभाषाका चलचित्रले विशाल सोच बनाउनुपर्ने आवश्यकतालाई जोड दिँदै उनले आफ्नो समुदायमात्र सीमित रहनुभन्दा आम जनमानसले हेर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
यस्तै गुरुङ चलचित्रकी निर्देशक जसमाया गुरुङ (जशु)ले मातृभाषाका चलचित्रमा महिलाको सहभागिता पहिलेभन्दा राम्रो हुँदै गएको बताएकी छिन् । कोभिडपछि मातृभाषाका चलचित्रमा समस्या आए पनि सबै मिलेर समस्याको समाधान गर्न सकिने उनको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले यस्ता अन्तक्र्रियाले समस्याको समाधानमा मद्दत पुग्ने बताउँदै मातृभाषाका चलचित्र निर्माणले गण्डकी प्रदेशको संस्कारलाई प्रतिनिधित्व गर्ने बताएका छन् ।