काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा संसद्मा दिएको अभिव्यक्तिबारे स्पष्ट पारेका छन्।
आइतबार नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय वार्ता सम्पन्न गरेपछि नेपाली दूतावासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै खनालले नेपालले सीमा सम्बन्धी आफ्नो धारणा भारत र चीन दुवैलाई औपचारिक कूटनीतिक माध्यमबाट जानकारी गराइसकेको बताए।
उनले विवादित भूमि नेपालकै भएको दाबी दोहोर्याउँदै त्यसका लागि ऐतिहासिक आधार र प्रमाण रहेको उल्लेख गरे। प्रधानमन्त्री शाहले हालै व्यक्त गरेको धारणा पनि सोही सन्दर्भमा आएको उनको भनाइ थियो।
खनालका अनुसार नेपाल–भारत सीमा विवाद ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको विषय हो, जसको वर्तमान स्वरूप सुगौली सन्धि पछि तय भएको हो। उनले यस्ता विषयहरू वार्ता र कूटनीतिक संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा नेपाल स्पष्ट रहेको बताए।
प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे थप स्पष्ट पार्दै उनले नेपालले बेलायतसँग कुनै मध्यस्थताको आग्रह नगरेको बताए। बरु, सीमा सम्बन्धी ऐतिहासिक प्रमाण र अभिलेखहरू बेलायती पुस्तकालय वा संग्रहालयमा उपलब्ध छन् कि भनेर खोजी गर्न चाहेको मात्र उनको आशय रहेको खनालले स्पष्ट गरे।
‘हामीलाई ऐतिहासिक प्रमाण आवश्यक छ। बेलायतका पुस्तकालय वा संग्रहालयमा रहेका दस्तावेजमा पहुँच प्राप्त गर्न सकिन्छ कि भनेर चासो व्यक्त गरिएको हो। यसको अर्थ मध्यस्थता खोजिएको होइन,’ उनले भने।




















