काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई नेकपा एमालेले सचिव पदबाट निलम्बन गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गरिएको जनाइएको छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि पक्राउ पूर्जी जारी गरिएको विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। हामी विधिको शासनमा विश्वास गर्दछौँ। राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्छ र कसैकाबारे कुनै विवाद उठेमा त्यसबारे कानुनी सफाइ प्राप्त गर्ने दायित्व सम्बन्धित व्यक्तिकै हो भन्ने हाम्रो पार्टीको स्थापित मान्यता रहँदै आएको छ’, महासचिव पोखरेलले भनेका छन्, ‘सोही मान्यताअनुरूप पक्राउ पुर्जी जारी हुनासाथ उहाँलाई राज्यका अनुसन्धान निकायमा उपस्थित भएर विधिवत् रूपमा आफ्नो यथार्थ स्पष्ट पार्न भनिएको थियो। उहाँले नेतृत्वलाई यस विषयमा सहमति पनि जनाउनु भएको थियो। तर पार्टी नेतृत्वलाई दिएको विश्वास विपरीत उहाँ सम्बन्धित निकायमा उपस्थित नभएको विषयलाई हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीरतापूर्वक लिँदै उहाँलाई अविलम्ब सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको थियो।’
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर करोडौ ठगी गर्ने गिरोहका १२ सदस्य पक्राउ परेका छन् ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेसँगै यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका हुन् ।
प्रहरीले यस अघि बहालवाला सचिव एवं पूर्व गृहसचिव टेकनारायण पाण्डे, गोविन्द चौधरी, रामशरण केसी, केशव दुलाल, सानु भण्डारीलाई पक्राउ गरिसकेको छ ।
त्यस्तै, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा, सागर राई, टंककुमार गुरूङ र टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन् ।
प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि नेकपा एमालेका सचिव टोपबहादर रायमाझी भने फरार छन् ।





















