काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी भेटिएमा नेता र नाता नहेरी कारवाही गर्नुपर्ने बताएका छन् ।
कांग्रेस महामन्त्रीसमेत रहेका सांसद थापाले प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै शरणार्थी प्रकरणमा दोषी एक जनालाई पनि नछाड्न र निर्दोषलाई नफसाउन आग्रह गरेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा सरकारले गरे कामको प्रशंसा गर्दै थापाले प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई पनि दिएका छन् ।
सो प्रकरणमा संलग्न जुनसुकै दल र ओहदा भए पनि कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । सांसद थापाले बजारको हल्ला र कुनै भेटघाटले पनि अनुसन्धान प्रभावित हुन नहुने बताएका छन् ।
अनुसन्धान फ्रि र फेयर हुनुपर्ने भन्दै थापाले यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अघि उसले सुशासनको नारा लगाउन सक्ने बताएका छन् । दोषी जोसुकै भए पनि कानूनको दायरामा ल्याउन सके प्रधानमन्त्रीको फिल्म राम्रो चल्ने, हाउसफुल हुने बताएका छन् ।



















