काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई फसाउने खेलमा लागेको आरोप लगाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको सन्दर्भ उठाउँदै अध्यक्ष ओलीले एमालेले कसैको बचाउ नगर्ने भन्दै प्रधानमन्त्रीले कसैलाई बचाउन खोजेको आफूले संकेत पाएको समेत बताए ।
आज राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले निर्दोषलाई फसाउने कोसिस नगर्न चेतावनी दिए ।
आफूसँग भेटवार्तापछि बाहिर पत्रकारलाई प्रधानमन्त्री प्रचण्डले दिएको प्रतिक्रियामा समेत एमाले अध्यक्ष ओलीले आपत्ति जनाए । यो प्रकरणमा प्रधानमन्त्रीले नै बोलाएपछि आफू भेट्न गएको भन्दै अध्यक्ष ओलीले अहिले आफूले दबाव दिएको भान पार्न खोजिएको भन्दै आलोचना गरे ।
प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने खेलमा लागेको आरोप लगाउँदै ओलीले प्रचण्डलाई जनताले चिनेको समेत बताए ।
कार्यकर्ताले लगाइदिएको दुबोको माला लगाएर आफूलाई दुलाहा जस्तो देखिएर यो त टेलर मात्रै हो, फिल्म आउँदैछ । उनले भने- म प्रचण्डजीलाई सोध्न चाहान्छु तपाइँको हलमा सिनेमा चलाउनुस् प्रचण्डजी, चलाउनुस् फिल्म, देखाउनुस् फिल्म ।’




















