काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेश सिंहले संसद बैठकमै लुगा फुकालेका छन् । सोमबार बसेको संसद बैठकमा विशेष समयको माग गर्दै बोल्न नपाएपछि विरोधमा उत्रिएका उनले शरीरको माथिल्लो भागको सबै लुगा खोलेका हुन् ।
संसद बैठकमा आफ्नो आशनबाट उठेर उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कारबाही चेतावनी दिएपछि लगाएका थिए ।
सांसद सिंहको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा सभामुखले सांसद सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्नका लागि चेतावनी दिनसक्ने व्यवस्था छ । चेतावनी पाएपछि अभद्र व्यवहार गर्ने सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ । त्यसै अनुसार सिंहले आफुले फुकाएको लुगा लगाएका हुन् ।
स्वतन्त्र सांसद सिंहले फुकालेको लुगा नलगाएको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारी गरेका थिए । नियमावलीको नियम ३० मा सांसदले अभद्र व्यवहार देखाएमा सभामुखले निष्काशन गर्न सक्ने व्यवस्था छ ।
बैठकबाट निष्काशन भइसकेपछि उक्त दिनको बाँकी अवधिको बैठकमा निष्काशन भएको सांसद उपस्थित हुन नपाउने व्यवस्था छ ।
सभामुखको ओदश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्नेछन् । मर्यादापालकको सहयोगबाट निष्काशन सदस्यले त्यसपछिको तीन दिनसम्म सांसद वा कुनै समितिको भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले त्यसको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछ ।





















