काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विरोध गरेका छन् ।
सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय पाएका थिएनन् । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठेका थिए । तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलेर विरोध गरेका हुन् ।
त्यससँगै संसदमा अन्य दलका सांसदहरु समेत बोल्न पाउनुपर्ने माग गर्दै उठेका थिए । तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गरे भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरेका थिए । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उनले दिए ।
यससँगै सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ गरेका थिए । अहिले प्रतिनिधि सभा बैठक जारी रहेको छ ।




















