काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अब्यबस्थित तार काट्ने कार्य आजबाट सुरु भएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका अव्यवस्थित तारलाई व्यवस्थित गर्न थालिएको हो ।
काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको आइतबार बसेको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
आजबाट माइतीघर मण्डला र न्युरोड क्षेत्रका सडक किनारका पोलमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तार हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम थालिएको छ ।
आज बिहान दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जानकारी दिएको थियो ।
प्राधिकरणका अनुसार अव्यवस्थित तार हटाउने तालिका नै बनाइएको छ । प्राधिकरणले सबै सेवाप्रदायकलाई दैनिक रूपमा हुने तार व्यवस्थापन कार्यमा अनिवार्य सहभागिताका लागि आग्रह पनि गरेको छ ।
‘सेवा प्रदायकहरूको तारमा संस्थाको नाम वा अनुमतिपत्र नम्बर खुल्नेगरी तारमा ट्याग हुनुपर्ने बेहोरासमेत जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ, ‘तार व्यवस्थापन कार्यमा सेवाप्रदायक उपस्थित नभएमा वा सम्बन्धित सेवाप्रदायकको तार चिनिने ट्याग नभएको कारण तार काटिएमा वा हटाइएमा सोको जिम्मेवार स्वयम् सेवाप्रदायक नै हुने बेहोरा जानकारी गराइन्छ।’
प्राधिकरणले तयार पारेको रुटिन यस्तो छ –
– माइतीघरदेखि एयरपोर्ट
– त्रिपुरेश्वर देखि महाराजगञ्ज
– न्युरोड–वसन्तपुर हुँदै असन
– माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी
– भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरी
– डिल्लीबजार–अनामनगर हुँदै बीआईसीसी रिङ
– नक्साल–बालुवाटार हुँदै शीतल निवास
– माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी
– लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुसी
– सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भू
– सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला
– गौशाला–बौद्वनाथ
– कालिमाटी–कुलेश्वर हुँदै बल्खु



















