काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न आज साँझ ६ वजे संवैधानिक परिषद्को बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको सल्लाहअनुसार संवैधानिक परिषद्को बैठक बस्ने भएको हो ।
संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा परेका छन् । त्यसयता सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश छन् ।
१४ महिनादेखि सर्वोच्च अदालत नेतृत्वविहीन रहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिका लागि नेपाल बार एसोसिएसनलगायत सरोकारवालाहरूले दबाब दिइरहेका छन् ।
यसअघि यही वैशाख ६ गते बसेको संवैधानिक परिषद्को बैठकले यस सम्बन्धमा अर्को बैठकबाट निर्णय गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् । सम्वैधानिक समितिमा प्रधानन्यायधीश पनि सदस्य हुने व्यवस्था छ । तर प्रधानन्यायधीश नियुक्तिको विषयमा छलफल गर्न बस्ने वैठकमा भने कानूनमन्त्री सहभागी हुने छन् ।



















