काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो देश नेपाल, शाक्यमुनिसँगै बुद्ध धर्म, बुद्ध दर्शन र तीन वटा बुद्धको जन्मस्थलका रूपमा प्रख्यात रहेको बताएका छन् ।
विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६७ औँ जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, यो बुद्ध दर्शनको उद्गमस्थल पनि भएको उल्लेख गर्नुहुँदै यस तथ्यमा विश्वको ध्यान जानु जरुरी रहेको बताएका छन् ।
सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्त्व र यसले विश्व शान्तिमा पुर्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय वैशाख दिवस (द डे आफ भेसाक)का रूपमा मनाउने घोषणा गरेको स्मरण गर्नुहुँदै अध्यक्ष ओलीले हामीले बुद्ध जयन्तीलाई लुम्बिनी दिवसका रूपमा पनि मनाउँदै आएको बताएकम छन् । उनले विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गौतम बुद्धप्रति उच्च सम्मान समेत व्यक्त गरेका छन् ।
नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले संयुक्त राष्ट्र सङ्घको संलग्नतामा तर्जुमा गरिएको लुम्बिनी विकास गुरुयोजनाको कार्यान्वयन भइरहेको बताएका छन् ।

उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन नेकपा (एमाले) को सरकारले सार्थक प्रयास गरेको स्मरण गर्दै लुम्बिनीमा ५ हजार ध्यानीहरूले एकै पटक ध्यान गर्न सक्ने क्षमताको हल निर्माण गरेको बताएका छन् ।
अध्यक्ष ओलीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बौद्धमार्गीहरुसँगै पर्यटकहरूको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासलाई आफूले उच्च महत्त्व दिएको उल्लेख गर्नुहुँदै आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएको बताएका छन् ।
सम्राट् अशोकले इ.पू. २४९ मा शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुछन्द बुद्धको जन्मस्थल गोटीहवा र कनकमुनी बुद्धको जन्मस्थल निग्लिहवामा शिलालेख सहितका एक एक वटा स्तम्भ स्थापना गर्नुभएको पाइन्छ । पाल्पाका गभर्नर जनरल खड्ग शमशेर र जर्मन पुरातत्त्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारेसँगै लुम्बिनी पुनः पत्ता लाग्यो । ब्रह्मी लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि सो स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको थियो ।





















