काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणबारे टिप्पणी गर्दै दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरुको प्रतिक्रियामा ओलीले सो कुरा बताएका हुन ।
एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष ओलीले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरेका छन् । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताउँदै अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने चेतावनीसमेत दिएका छन् ।
ओलीले रायमाझी तानिएको हो कि तनाइएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको बताउँदै भनेका छन् “चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’
पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताउँदै ओलीले रायमाझी काठमाडौं आउँदै गरेको बारेमा प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको बताएका छन् ।



















