काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ । नेपाली कांग्रेसबाट थपिएका मन्त्री धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लाग्नु भएको हो ।
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
कांग्रेसका आन्तरिक विवादका कारण मन्त्री नियुक्तिमा ढिलाई भएको थियो । कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले तीन वटा मन्त्री नपाए नाम सिफारिस नगर्ने अडान लिएका कारण रोकिएको थियो । तर अन्ततः दुई वटा मन्त्रालय मै मान्न सभापति शेरबहादुर देउवाले उनीहरुलाई वाध्य पारेका छन् ।
नवनियुक्त मन्त्रीहरुमध्ये बस्नेत संस्थापन समूहका हुन् भने गुरुङ र लिम्बु शेखर कोइराला समूहका हुन् । उपसभापति गुरुङले स्वास्थ्यमा जान चाहेका थिए, तर देउवा पत्नी आरजु राणाको जोडबलमा बस्नेतलाई यो मन्त्रालय दिइएको नेताहरु बताउँछन् ।
सत्तारुढ दलहरुबीच भएको भागवण्डामा ८ मन्त्रालय लिएका देउवाले सुरुदेखि दुई मन्त्री शेखर गगन समूहलाई छुट्याएका थिए । त्यसअनुसार १७ चैतको विहान दुई जनाको नाम पनि मागेका थिए । एक नेताका अनुसार त्यो दिन नै धनराज र डिगबहादुरको नाम टुंगिसकेको थियो । तर शेखर कोइराला र गगन थापा समूहले कम्तीमा तीन मन्त्री पाउनुपर्ने भन्दै नाम नै दिएनन् ।
वैशाख २ मा एनपी साउदलाई परराष्ट्रमन्त्री नियुक्त भए, तर शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान छोडेन ।
नेताहरुका अनुसार जनमत पार्टीले सरकार छाडेपछि रिक्त भएको मन्त्रालय लिएर भएपनि कांग्रेसको आन्तरिक भागवण्डा मिलाउने समझदारी भएको थियो ।
शेखर कोइराला र महामन्त्री थापा दुबैले आफ्नो समूहको बैठकमा पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी भएको दाबी गर्दै आएका थिए ।
मंगलबार साँझ कांग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको थियो । लगत्तै कोइराला आँखाको उपचारका लागि सिंगापुर उडे । भोलिपल्ट देउवाले शेखर समूहका दुई नेता र आफ्नो पक्षका एक नेतालाई मन्त्री बनाएपछि शेखर गगन समूहमा असन्तुष्टि बढेको छ । तीन मन्त्री पाउनुपर्ने अडानमा नेता कोइराला अडिन नसकेको गुनासो यो समूहका कतिपयले गरेका छन् ।
प्रधानमन्त्री दाहालले आठौं पटक मन्त्रिपरिषद विस्तार गरेपनि अझै पूर्ण भएको छैन । खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी उनी आफैंले सम्हाल्नु परेको छ ।




















