काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा रवि लामिछानेलाई चयन गर्ने निर्णय गरेको छ। रास्वपाको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।
संसदीय दलको नेता लामिछाने चयन गर्ने निर्णय भएसँगै संसदीय दलले अनुमोदन गर्नेछ ।
नागरिकता विवादमा रविको संसद पद गुमेपछि उनले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । त्यसपछि डोलप्रसाद अर्याललाई संसदीय दलको नेतामा चयन गरिएको थियो । लामिछाने चितवन–२ बाट उपनिर्वाचनमा पुननिर्वाचित भएपछि अर्यालले संसद दलको उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका थिए ।
यसैगरी सो पार्टीले सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिने भएको छ । पार्टीको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिनेबारे छलफल भएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बैठक बसेर सरकारमा सहभागीबारे अन्तिम निर्णय लिइनेछ ।
सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकारमा जाँदा हुने फाइदा/ बेफाइदा र प्रतिपक्षमा बस्दा हुने फाइदा /बेफाइदाबारे धारणा राखेका थिए ।




















