काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।
सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन् । उनले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको बताए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भिर समिक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पारे ।
उनले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताए । शुक्रवार सभामुख देवराज घिमिरेले चितवन २ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।




















