काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रुपान्तरण र सुदृढीकरणको यात्रा प्रारम्भ भइसकेको बताएका छन्। उपनिर्वाचनमा कांग्रेस पराजय भएपछि उनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै पार्टीभित्र निर्मम समीक्षा हुनुपर्ने बताए ।
उनले अहिले नेपाली कांग्रेसको सबै तहमा यो मतादेश र जनताको सन्देशलाई सम्मान र शिरोपर गर्दै समाजका विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात गरेर इमान्दार आत्मसमीक्षा गर्ने घडी भएको बताए ।
उनले लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि प्रयत्न गर्दै आए पनि आम चाहनाअनुरुप अपेक्षित परिणाम नआएको स्वीकारेका छन् ।
‘पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन । त्यसैले, सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं,’ उनले भनेका छन्।
राजनीतिप्रतिको चासो र चिन्ताले नेपालको राजनीतिको सुद्धीकरण र नेपाली कांग्रेस रूपान्तरणको अभियानलाई थप मद्दत पुग्ने भन्दै उनले भनेका छन्, ‘हामीलाई अलमलिने न छुट छ, न समय नै।’
‘आम जनता र पार्टीका साथीहरूको गुनासो, सुझाव र खवबरदारीले मलाई सदाझैँ ठूलो उर्जा, प्रेरणा र आत्मबल दिएको छ। आम अपेक्षाअनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिनँ कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु,’ उनले भनेका छन्, ‘यही क्रममा पार्टीका साथीहरू, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा सम्बाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रमसहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं । र, त्यो रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु।’




















