काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् ।
सोमवार संसद भवनमा बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएको बताएको पार्टीका सांसद रामहरि खतिवडाले बताएका हुन् ।
उनले पार्टी सभापति देउवाले बैठकमा आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरुसँग चासो राखेको बताए । उनले अहिलेको देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने बताएको जानकारी दिए ।
बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गरेका बिपीपछि काँग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बने पनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका सांसद खतिवडाले बताए ।
सांसद खतिवडाले सांसदहरुले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थारैमा एउटा नागरिकले खेख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएको बताए ।




















