काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गरेका छन् ।
कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताएका छन् । उनले बिभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने धारणा राखेका छन् । मोर्चा र एकताको अभियान सुरु गरेपछि एमालेभित्रै पनि डिवेट सुरु हुने प्रचण्डले बताएका छन् ।
उनले आग्रह वा पूर्वाग्रहमा नगई देशको आवश्यकतालाई मध्यनजर गर्दै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट मार्फत देशलाई नयाँ आशा र विश्वास दिने गरि सरकारले तयारी गरिरहेको बताएका छन् । उनले आफ्नो विदेश भ्रमण हुन लागेको भन्दै त्यसको तयारीमा लागेको पनि धारणा राखेका छन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टबीचको एकतालाई तीव्रताका साथ अघि बढाइने बताएका छन् । उनले मुलुकमा देखिएका बिभिन्न समस्या समाधानका लािग पनि विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा समान भएका दलहरु एक भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्वार्थका लागि हुने एकताले सार्थकता नपाउने जिकिर गरेका छन् । समाजवादी क्रान्तिको कार्यदिशा, लक्ष्य, सिद्धान्तमा बैचारिक एकता भएपछि मात्रै पार्टी एकता गर्नुपर्ने उनले बताएका छन् ।



















