काठमाडौं । तनहुँ क्षेत्र नं. १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं. २ मा भइरहेको उपनिर्वाचनको लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो भने चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो ।
प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था अनुसार आज निर्वाचन भएको हो ।
चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेदवार छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।
यसैगरी बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई आग्रह गरेको छ ।