काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालिन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी कामलाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताए ।
शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्नहरु भईरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढ्नुको विकल्प नरहेको पनि बताए । एक दशकभन्दा बढी समय बित्दा पनि संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउन नसकेकाले अहिले त्यसलाई पूरा गर्न क्रियाशील हुनु परेको उनको भनाई थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए । मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको दोहोर्याउँदै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए ।
उनले जनताको अपेक्षालाई पूरा गर्न र यो परिवर्तनको औंचित्यलाई पुष्टि गर्न पनि सरकारले आर्थिक समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नुपर्छ भन्ने मान्यताका साथ काम गरिरहेको दावी समेत गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै सोही अनुसार काम गर्न आफूहरु प्रतिवद्ध रहेको पनि बताए । उनले सुशासन र जनमुखि कार्ययोजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्ने भएकाले त्यसमा सञ्चार क्षेत्रले सहयोग गर्नुपर्ने बताए । उपप्रधानमन्त्री श्रेष्ठले सीमित स्रोत र साधनको भरमा काम गर्नुपर्ने भएकाले सरकारले चाहेजसरी काम गर्न सक्ने अवस्था नभएको पनि स्मरण गराए ।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ पु-याउने र उनीहरुलाई जागृत गराउने काममा लाग्न पनि पार्टी निकट सञ्चार क्षेत्रलाई पटकपटक आग्रह गरे ।