काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब बिसर्जन गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गरेको आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौँ महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
संविधानका अनुसूचीमा भएका प्रावधान र प्रचलित कानून अनुसार सरसफाई, फोहोर व्यवस्थापनको काम स्थानीय तहको जिम्मेवारीमा रहेको भन्दै सर्वोच्च अदालतले सिंहदरबारको फोहोर संकलन गरी विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरपालिकाको हुने भन्दै ध्यानाकर्षण गराएको हो ।
आदेशमा भनिएको छ, ‘फोहरमैला विसर्जन गरिने स्थान वा ल्याण्डफिल्ड साइट अरु स्थानीय तह अन्तर्गतको स्थानमा पर्न जाँदा त्यहाँको बासिन्दा, स्थानीय तह, सरोकारवाला र काठमाडौँ महानगरपालिकासँग समेत आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्याइ स्वच्छ वातावरण कायम गर्नुपर्नेतर्फ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेतको गम्भीर ध्यानाकर्षण गराइएको छ ।’