काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमालाई गोली लागेको छ ।
प्रहरी जवान प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा पुनकी आमा तीर्थमायालाई गोली लागेको हो ।
गोली लागेर तीर्थमाया घाइते भएकी छन् । उनको देब्रे खुट्टामा गोली लागेको छ । उनको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी जवान प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाश कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । उनी नातामा तीर्थमायाको नजिक नाती पर्छन् । शुक्रबार राती भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘असावधानीवश’ गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।




















