नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दस दलीय गठबन्धनले देशमा कुकर्म गरिरहेको आरोप लगाएका छन् । नेपालगञ्जमा सोमबार युवा संघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले राजनीतिक विचार नै नभएको वर्तमान गठबन्धन सरकारलाई निकम्मा सरकार भएको बताए ।
उनले पञ्चायत, राजतन्त्र ढाल्ने आफूहरू नै भएको र संघीय लोकतान्त्रिक गणतन्त्रमा गठे संस्कृति मौलाएको आरोप लगाए ।
उनले भने- ‘कुनै बेला पञ्चायत पनि थियो। तर हाम्रै अगाडि गर्ल्याम गुर्लुम्म ढल्यो। घाम रहुन्जेल पञ्चायत रहन्छ भनिन्थ्यो। हामीले केही समयपछि नै ढल्छ भन्यौं । हामीले निरंकुश रातन्त्र पनि ढल्छ भनेका थियौं। त्यो पनि समाप्त भयो। आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसमा पनि कतिपय विकृतिहरू आएको छ । गठे संस्कृत, यो गठबन्धनको संस्कृति। जसमा राजनीति छैन, विचार छैन । जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ।’
उनले गठे संस्कृतिले नै देश आरोलो लगाएको बताए। उनले एमाले नेतृत्वको सरकारले देशलाई सही दिशार्फ लगेको दाबी गरे । उनले आफू प्रधानमन्त्री हुँदा देशमा विकासको मूल फुटेको बताए ।