काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक कोटामा सांसद बनेका ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले आइतबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ ।
स्वास्थ्यमन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ ।
केन्द्रीय अनुशासन तथा आचारण समितिले सो अडियो प्रकरणबारे २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिएको छ ।
रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।