काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको आरोपमा पुराना पार्टीका नेताहरूलाई जेल हाल्नुपर्ने बताएका छन् ।
तनहुँ १ को आबुखैरेनीमा रास्वपाद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा कुशासन चलाउनेहरूले नै रास्वपाको विरोध गरेको भन्दै त्यस्तालाई जेल हाल्ने चेतावनी दिएका हुन् ।
ठूला र पुराना दल भन्नेहरुले देशलाई खोक्रो बनाएको उनले आरोप लगाए ।
‘हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न, तीनलाई त जेल ठोक्ने हो । ३० वर्ष देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन ।’ उनले भनेका छन् ।
लामिछानेले भने, ‘युवा देश छोडेर जान बाध्य भएका छन्, सुत्केरी अस्पताल नपुग्दै बाटोमा मृत्यु हुने जोखिम छ, विद्यालय शिक्षाको स्तर खस्किँदै गयो ।’
उनले राजनीतिमा आफू जनताको सेवा गर्न आएको र जनताको काम गर्न रास्वपालाई अवसर दिन पनि आग्रह गरे ।
उनले रास्वपा करिब ३० दिन सरकारमा बसेर केही नबिगारेको बरु सुधारको प्रयास गरेको दाबी गरे ।