काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले निर्देशन र घोषणाबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरु मात्रै गर्दै हिँडेको बताए ।
उनले प्रधानमन्त्रीलाई उद्घाट्न र सम्मेलनहरुमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताए । उनले प्रधानमन्त्रीलाई निर्देशन र घोषणाले शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन सुझाव दिए ।
त्यस्तै सांसद थापाले प्रधानमन्त्री दाहालसँग लक्ष्य पुरा गर्ने आत्मविश्वास नदेखिएको बताए ।
सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलामा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाए । उनले न्युनतम कार्यक्रम संसदभित्रै प्रश्तुत हुनुपर्ने बताए । संसद चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु संसदभित्रै प्रश्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उनले जोड दिए ।
सांसद थापाले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताए । उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको बताए । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुलाई थन्क्याउन लगिएको जस्तो भान हुने उनको भनाई छ । उनले प्रधानमन्त्री दाहाललाई गठबन्धनका दलहरुसँग बस्ने समय छोट्याएर सम्पूर्ण समय सरकारको काममा केन्द्रित हुन पनि आग्रह गरे ।




















