काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बुढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गरेको हो ।
यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए ।
गत असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए। ती मध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डीआईजी भएका वसन्तबहादुर कुँवर आईजीपी छन् ।
राई प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, थापा प्रशासन विभाग, ज्ञवाली काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा र बज्राचार्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) मा पदस्थापन भएका छन् ।
आज बढुवा भएका एआईजीहरु कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभागमा पदस्थापन हुने बताइएको छ ।