काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेलाई महाभियोग लगाउनसक्ने आशंका व्यक्त गरेका छन् ।
बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा बहुमतको दम्भ रहेको भन्दै सभामुख घिमिरेलाई महाभियोग लगाउन सक्ने आशंका व्यक्त गरेका हुन् ।
प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा रहेको बताउँदै उनले सत्ता गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका व्यक्त गरे ।
त्यो बेला पनि पूर्व ‘राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजेको बताउँदै उनले पार नलाग्ने भएपछि पछि हटेको उनले बताए । उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि २५ प्रतिशतले पुगिहाल्छ, यिनीहरुसँग त बहुमत छँदैछ, महाअभियोग ल्याउन पनि बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याएर सर्वोच्च अदालतलाई ६ महिना नेतृत्वविहीन बनाएको उनले आरोप लगाए । उनले राज्यसत्ता जनताको पक्षमा नरहेको बताए ।