काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल र अमेरिकाबीच द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ।
गृहमन्त्रालयका अनुसार नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदूतले चासो राखेका थिए । कोभिडपछि अमेरिकी सहयोग संस्था पिसकोरको काम प्रभावित भएकाले त्यहाँ कार्यरत कर्मचारीको भिसा सहजताका लागि राजदूत थम्पसनले आग्रह गरेका थिए।
जवाफमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताएका थिए । गृहमन्त्री श्रेष्ठले वैदेशिक लगानी र त्यहाँ कार्यरत कर्मचारीको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका थिए ।
गृहमन्त्री श्रेष्ठले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकी सरकारसँग सहयोग मागे । अमेरिकी राजदूत थम्पसनसँग गृहमन्त्री श्रेष्ठले संक्रमणकाली न्यायसम्बन्धी मुद्दामा सहयोग गर्न आग्रह गरेका हुन् ।
गृहमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित रहेको भन्दै नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए। उनले यससम्बन्धी विधेयक संसदमा पेस भएको बताउँदै राजदूत थम्पसनसँग सहयोगको अपेक्षा गरेका थिए।
राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्ति प्रक्रियाले पूर्णता पाएको देख्न चाहेको बताएका थिए। उनले आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताएको गृहमन्त्रीको सचिवालयको जनाएको छ।
राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताए । राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए ।




















