काठमाडौं । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले आफूमाथिको कारबाही फुकुवा भएको भनेर कांग्रेसले भ्रम छर्ने काम गरेको बताएका छन् । जोशीले वक्तव्य जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालगायतका झुण्डहरूले कार्यकर्तासँग माफी माग्नुपर्ने समेत बताएका छन् ।
आइतबार बिहान कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पूर्वगृहमन्त्री समेत रहेका जोशीको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो । लगत्तै जोशीले विज्ञप्ति जारी गर्दै पार्टीको सो निर्णय आफूलाई कुनै पनि हालतमा स्वीकार नहुने बताएका थिए ।
सोमबार फेरि अर्को वक्तव्य जारी गर्दै उनले शेरबहादुर देउवालगायतका झुण्डहरूले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्तासँग माफी माग्नुपर्ने बताएका हुन् । उनले झुटको खेतीमा मलजल नगर्न चेतावनी समेत दिएका छन् ।
जारी वक्तव्य भनिएको छ,’जब राजनीतिमा विचलन आउँछ,तब झुटको खेति गरिन्छ। १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले केवल झुटको खेती गर्दै देशलाई तहसनहसको बाटोतर्फ उन्मुख गरेको कुरा जनतासामु प्रष्ट नै छ। अतः सबै भन्दा ठूलो कुरा देश हो। देश रहे मात्रै पार्टी रहन्छ। पार्टी रहे राजनीति गरौंला। मैले मेरो व्यक्तिगत फाइदाको लागि निर्वाचनमा होमिनुपर्ने कुनै आवश्यकता छैन। आज देश नाजुक स्थितिमा पुगेको छ। सबै मिलेर देशको रक्षा गर्नुपर्ने बेला आएको छ।’
‘२०७९ भन्दा अगाडि भएका निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गरेकाहरूले माफी मागेर यसपालि चुनावमा सहयोग गरेको खण्डमा कारबाही फुकुवा गर्ने भन्ने भ्रम छर्ने प्रयत्न गरिएको छ । हेक्का रहोस् हामी नव सामन्तीहरूको दास होइनौँ । बीपी कोइरालाको पार्टीलाई यो स्थितिमा पुर्याउने शेरबहादुर देउवालगायतका झुण्डहरूले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्तासँग माफी माग्नुपर्छ । अनिमात्रै सच्चा कांग्रेसहरूप्रति न्याय हुन्छ ।’ उनको वक्तब्यमा उल्लेख छ ।
जोशीले नेपाली कांग्रेसले मञ्चन गरेको नाटकमा ‘न त कथा वस्तु राम्रो छ न त त्यसमा अभिनय गर्ने पात्रहरू नै ।’ भन्दै पार्टीले गरेको झुटो निर्णयमा सरोकारवाला र जानकार भएर पनि चुप लाग्ने कांग्रेसका युवा नेताहरूको हैसियत र काम गर्ने क्षमता देख्दा दयाभाव जागेको बताएका छन् ।




















