काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन भनिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दलहरुको नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह हुने बताइएको छ ।
सत्ता गठबन्धनको बिहीबार पटक–पटक बसेको वैठकले मन्त्रालय भागवण्डा मिलाएको थियो । तर सहमतिमा ढिलाइका कारण मन्त्रीहरूको शपथग्रहण आजका लागि तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार आज बिहान एक चरण बैठक बसेर मन्त्री र मन्त्रालय चयनको विषयलाई अन्तिम रूप दिइनेछ ।
यता नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा मन्त्रीको रुपमा सहभागी हुनेहरुको नामावली अझै टुंगो लागिनसकेको बताएका छन् । कतिपयले सामाजिक सन्जालमा नेताहरुको फोटो राखेर मन्त्री बन्न लागेको भन्दै बधाई दिने गरेपछि खड्काले गएराति सामाजिक सन्जालमार्फत् नै नामावली टुंगो नलागेको स्पष्ट पारेका हुन ।
पार्टी सभापतिले हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई नामावली नबुझाएसम्म कुनै पनि बेला निर्णय परिवर्तन हुनसक्ने खड्काले उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अहिलेसम्म पार्टीका तर्फबाट मन्त्रीहरुको फाइनल नाम टुङ्गो लागिसकेको छैन । जबसम्म औपचारिक निर्णय भएर सभापतिज्युको हस्ताक्षरित पत्र प्रधानमन्त्रीज्युकोमा पुग्दैन, तबसम्म निर्णय परिवर्तन हुन सक्छ ।’




















