काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् । कांग्रेसका पूर्व सहमहामन्त्री थापा अहिले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य छन् । राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए ।
गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका सुनिल मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रपतिको सल्लाहकार नियुक्त भएको बुझिएको छ ।
त्यस्तै राष्ट्रपति पौडेलले बिहीबार मात्र आर्थिक सल्लाहकारमा पूर्वगभर्नर चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा गण्डकी प्रदेशका पूर्व प्रमुख बाबुराम कुँवरलाई नियुक्त गर्नु भएको थियो । कुँवर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता र त्यसपछि प्रदेश प्रमुखसमेत भइसकेका व्यक्ति हुन् ।
यसअघि राष्ट्रपतिको परराष्ट्र सल्लाहकारमा अमेरिका र बेलायतको राजदूत भइसकेका डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका थिए भने सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका थिए । यस्तै राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्की स्वकीय सचिवालयमा नियुक्त गर्नु भएको थियो ।



















