काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक आज बिहान बस्दैछ । बुधवार दुई पटक वैठक बस्दा पनि मन्त्रालय भागबन्डा टुङ्गो नलागेपिछ आज विहान ८ बजे पुनः बस्न लागेको हो ।
हिजो साँझ बसेको बैठकमा उपस्थित दलले आ आफ्नो दाबी प्रस्तुत गरेको भए पनि कुन दलले कति वटा र कुन कुन मन्त्रालय पाउने निर्णय नभएकाले बिहीबार बिहान बैठक बोलाइएको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा काँग्रेसलाई आठ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा एसलाई दुई–दुई र अन्य दललाई एक–एक मन्त्रालय दिने सहमति भएको र यो विषयमा ठोस निर्णय शीर्ष नेताले गर्ने नेता श्रेष्ठले बताएका छन् ।
राष्ट्रिय जनमोर्चाबाहेक नौ दल सरकारमा सहभागी हुने भएका छन् ।
आजै मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेको बुझिएको छ । मन्त्री चयन गर्न नेपाली कांग्रेसको वैठक ११ बजे बस्ने बताइएको छ ।




















