काठमाडौं । बर्दिवासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म पैदलै आएका मिटरब्याज पीडितहरुले मंगलबार काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन जाने क्रममा टंगालमा रोकिएपछि उनीहरुले त्यहाँबाट फर्केर माइतिघरमा धर्ना दिएका हुन् । प्रदर्शनमा सहभागीहरुले मिटर व्याजविरुद्ध कानून निर्माण गर, झुटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर, सहुलियत दरमा ऋणको व्यवस्था गर, पीडितलाई न्याय दे लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
मिटरब्याज पीडितहरुको आन्दोलनमा बिभिन्न संघ संस्था तथा दलका नेताहरु ऐक्वद्धता जनाएका छन् । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मातातिर्थ पुगेर ऐक्यवद्धता जनाएका थिए भने आज विहान टंगाल पुगेर राष्ट्रिउ स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ऐक्यवद्धता जनाउँदै माग पूरा गराउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै मिटर ब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन राप्रपा सांसद ज्ञानेन्द्र शाही माइतीघर पुगेका छन् । शाहीविरुद्ध भने पीडितहरुले नाराबाजी गरेका छन् । राजावादीको सहयोग आफूहरुलाई नचाहिने भन्दै पीडितहरुले शाहीविरुद्ध नाराबाजी गरेका थिए । तर शाहीले आफुहरु वास्तविक पीडितको पक्षमा भएको भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।





















