काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्दा जेल चलान भएका युवालाई तत्काल रिहाइ गर्न माग गरेका छन्।
सामाजिक सञ्जाल ट्वीमा महामन्त्री शर्माले प्रधानमन्त्रीलाई मेन्सन गर्दै लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थु्न्न या थुनामा राख्न नमिल्ने बताउँदै युवाहरूको रिहाइको माग गरेका हुन् ।
प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक भएको उनको भनाइ छ । ‘लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थु्न्न या थुनामा राख्न मिल्दैन। प्रहरीले युवाहरूको मुख थुनिरहेको दु:खद र आपत्तीजनक थियो। आफूविरूद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अबिलम्ब पहल माग गर्दछु, ‘उनले लेखेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्व नाराबाजी गर्ने तीनजनालाई सोमबार कारागार चलान गरिएको छ । सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा कारागार चलान भएका हुन् ।




















