काठमाडौं । सरोकारवालाहरुले पत्रकारीताको विश्वसनीयता अभिवृद्धि काम गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघले पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरुले नेपालमा पत्रकारिताको विश्वसनीयता खस्कन थालेकाले विश्वसनीयता अभिवृद्धि गर्ने काम गरिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेलले अहिले मुलुकमा धेरै सञ्चारमाध्यमको स्थापना भएपनि दक्ष जनशक्तिको अभाव रहेको बताएका छन् । उनले अहिले दलका गुटगत प्रभावले पनि पत्रकारितामा प्रभाव पारेको बताए । पोखरेलले लोकतन्त्रलाई जीवन्त बनाउन संसद्ले भन्दा ठूलो काम पत्रकारले गर्न सक्ने भएकाले राज्यलाई निरन्तर खवरदारी गर्नुपर्ने धारणा राखेका छन् ।
त्यस्तै कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नयाँ मिडियाका प्लेफर्मका कारण जनतामा भ्रम सिर्जना भएको बताएका छन् । वास्तविक सञ्चारमाध्यम कुन हुन् भन्ने प्रश्न उठेकाले त्यसको जवाफ दिनुपर्ने बेला आएको उनको भनाइ छ ।
त्यस्तै न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पत्रकारिता क्षेत्रमा देखिएका बिकृति बिसंगतिलाई अन्त्य गर्नका लागि सरोकारवाला निकाय एक भएर काम गर्नुपर्ने धारणा राखेकी छिन् ।