काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत माग्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
बुधबारका लागि बोलाइएको बैठक कांग्रेसका सांसद उपस्थित नभएपछि आजका लागि सारिएको थियो । बुधबार कांग्रेसका प्रदेश सांसदहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल गर्न काठमाडौँमा संसदीय दलको बैठक राखेका थिए । बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई नै विश्वासको मत दिएर अघि बढ्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने शर्त राखेर कांग्रेसले वागमतीमा माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिन तयार भएको स्रोतको दावी छ ।
कांग्रेसलाई गण्डकी प्रदेशको नेतृत्व दिने कुराको विश्वास दिलाउन माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको गण्डकी संसदीय दललाई निर्देशन दिएका छन् । प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन बिहीबार निर्देशन दिए पनि सांसदहरु पोखरा बाहिर रहेकाले शुक्रबारका लागि बैठक बोलाएको छ ।
एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिएर सत्ता समीकरण फेरेपछि सोमबार दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यससँगै प्रदेश सरकारको पनि पुनर्गठनको कसरत भएको हो ।
एमालेका खगराज अधिकारी नेतृत्वका सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउने गण्डकीमा कसरत शुरु हुन लागेको हो । चुनावकै बेला मुख्यमन्त्री बनाउने वचन दिएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्न केन्द्रमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।
यता कांग्रेसलगायत गठबन्धनमा रहेका ४ दलले विश्वासको मत दिने पक्का भएपछि वागमतीका मुख्यमन्त्री जम्मकट्टेल ढुक्क भएका छन् । माओवादी, कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिने बताएका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा माओवादी केन्द्रका २१, कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । यी सबै जोड्दा कूल ६८ हुन आउँछ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन भए पुग्छ ।
यता, सरकारबाट बाहिरिन लागेको एमाले, सरकार छाडिसकेको राप्रपा र नेपाल मजदुर किसान पार्टीले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जस्तै जम्कट्टेलले पनि विश्वासको मत प्राप्त गरे पनि पहिलोपटक संसद्बाट विश्वासको मत लिँदाको संख्या भन्दा निकै कम मात्र प्राप्त गर्ने छन् । जम्कट्टेलले पहिलो पटक विश्वासको मत लिँदा नेमकिपाबाहेक ६ दलको १०५ समर्थन पाएका थिए ।



















