काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
सहज रूपमा नेपालमा मनसुन भित्र्याउन मनसुनपूर्वको अवस्थामा वायुमण्डलका बादल, जलवाष्पका कण र सुक्खा वायुबीच सङ्घर्ष चल्ने गर्छ ।
जसका कारण बादल गर्जने, हावाहुरी चल्ने र चट्याङ पर्ने मौसमविद् गोविन्दकुमार झाले बताएका छन् । उनका अनुसार अहिले मनसुनजन्य वातावरण निर्माणका लागि आकाशमण्डलमा त्यस्तै मौसमजन्य तत्वहरू सक्रिय छन् ।
यस वर्षको पूर्वमनसुन सुरु भएसँगै दुई दिनयता धनकुटा, सङ्खुवासभा, पाँचथर, बागलुङ र प्युठानमा चट्याङ लागेर दस जना घाइते भएका छन् । आगामी जेठसम्म नै चट्याङको जोखिम उच्च हुने भएकाले पनि सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
अझै केही दिन बादलजन्य गतिविधिले मौसम अवरोधपूर्ण नै रहेको मौसमविद् झाले जानकारी दिएका छन् ।