काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ ।
प्रहरीका ८ एआईजीमध्ये पाँच एआईजीका पद रिक्त थिए । सोही रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर रहेका छन् भने दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
एआईजी पूजा सिंहसहित अवकाश पाउने पाँच जना एआईजीले नै ५६ वर्षे उमेर हदका कारण अवकाश पाएका थिए । अवकाशका कारण साउनदेखि फागुनसम्ममा ५ एआईजी रिक्त भइसकेका थिए ।
भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिनअघि उनीहरु एआईजीमा बढुवा भएका हुन् । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाश पाउँदै छन् । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।





















