काठमाडौँ । सरकारबाट नेकपा एमालेसहितका दलहरू बाहिरिएपछि माओवादी केन्द्रका प्रधानमन्त्रीसहित पाँच र जनमत पार्टीका एक मन्त्री मात्रै रहेको अवस्थामा मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले ‘जनयुद्ध’ र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रेस विज्ञ नरेन्द्र केसीका अनुसार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
उनले भने, ‘जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने आज बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ । बाँकी निर्णयको नियमित पत्रकार सम्मेलनबाट जानकारी हुने छ ।’




















