काठमाडौं । आज पनि पहाडी भेगमा हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र प्रि-मनसुन सुरु हुनुभन्दा अगाडिको गतिविधि सक्रिय रहेको बताइएको छ ।
आइतबार काठमाडौं उपत्यका र त्यस आसपासका जिल्लाहरुमा मेघगर्जनसहित यस वर्षको पहिलो हिउँदे वर्षा भएको थियो ।
आइतबार बेलुका रोकिएको वर्षा सोमबार दिउँसो पुनः सुरु हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसम सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।



















