काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बोलाएको छ। आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार परिवर्तित सन्दर्भमा छलफल गरी धारणा तय गर्न बैठक बोलाइएको हो ।
सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको छ ।
पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । यो गठबन्धनमा माओवादी केन्द्र, जसपा, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी थिए । राष्ट्रपतिको निर्वाचनको लागि यो गठबन्धनबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन् । कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ । योसँगै प्रधानमन्त्री प्रचण्डले एमाले नेतृत्व गठबन्धन तोडेका छन् ।
शुक्रबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको थियो। राष्ट्रपतिको निर्वाचनका लागि पुरानो गठबन्धन तोडेर प्रचण्डले नयाँ गठबन्धन बनाएसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे आजको बैठकले निर्णय लिने छ ।




















