काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी हुनेछन्। सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको हो । यो निर्णयसँगै कांग्रेसले आफ्नो उम्मेदवार टुग्याउन बैठक बोलाएको हो ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपतिमा कांग्रेसलाई समर्थनसँगै नेताहरूले ‘पुरानो गठबन्धन ब्युँतिएको’ व्याख्या गरेका छन् ।
चुनावका बेलाको पाँचदलीय गठबन्धनमा नयाँ तीन दल पनि थपिएका छन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णयमा सहमति जनाएका छन् ।
सत्तासीन एमालेले भने राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेलेको एमालेको आरोप छ ।
यता कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रबल सम्भावना रहेको नेताहरू बताउँछन् । अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिमा चाहना व्यक्त गरेका छन् । केही नेताहरू पार्टी सभापति शेरबहादुर देउवालाई नै उम्मेदवार बन्न दबाब दिइरहेका छन् । तर देउवाले मुख खोलेका छैनन् ।
कांग्रेस संसदीय दलको निर्वाचनका क्रममा पौडेललाई वचन दिएका कारण पनि देउवाको सहानुभूति पौडेलप्रति रहने चर्चा पनि छ । १४औं महाधिवेशनमा पार्टी सभापतिमा देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा देउवाकै प्रस्तावक बसेका थिए । त्यतिबेलै पौडेललाई राष्ट्रपति बनाउने प्रतिबद्धता देउवाले जनाएपछि पौडेल प्रस्तावक बसेका थिए । सिटौलासँग पनि सभापति देउवाको सहकार्य बेलाबखत हुँदै आएको छ । पार्टीको १३औं र १४औं महाधिवेशनमा सिटौला देउवाको पक्षमा उभिएका थिए ।
पार्टी उपसभापति पूर्णबहादुर खड्काले आठ दलको सहमतिले कांग्रेसले उठाएको उम्मेदवारलाई जिताउने सहमति भएको बताउँदै भने, ‘कांग्रेसको पक्षमा सहमति जुटेको छ । अब उम्मेदवारको कुरा हो । उम्मेदवारको कुरामा त्यस्तो विवाद छैन । अहिले चर्चामा आएकै नामबाट उम्मेदवारी हुने हो ।’




















