काठमाडौं । नेकपा माअोवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।
सिंहदरबारमा भएको भेटमा माओवादी केन्द्रबाट अध्यक्षसमेत रहेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव शक्ति बस्नेत सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ सहभागी छन् ।
दुई दलका शीर्ष नेताहरुबीच राष्ट्रपति निर्वाचन र आगामी कदमको बिषयमा छलफल भएको थियो । छलफलमा जसपाले उपराष्ट्रपति आफ्नो दलले पाउनुपर्ने अडान राखेको बुझिएको छ ।
जसपाले पाँच दलीय गठबन्धन ब्यूँताउन र राष्ट्रपति निर्वाचनमा सहयोगका लागि उपराष्ट्रपति दिनुपर्ने शर्त लिएको छ । जसपाले उपराष्ट्रपति दिने भएमात्रै गठबन्धन र सरकारमा समेत सहभागी हुने अडान लिएको एक नेताले बताए । पुरानो गठबन्धन ब्युँताउने हो भने हामीलाई उपराष्ट्रपति चाहिन्छ। उपराष्ट्रपति नदिने हो भने हामी गठबन्धनलाई सहयोग गर्न सक्दैनौं भनेर जसपाले स्पष्ट भनेको उनले बताए ।
यसअघि बिहीबार माओवादी र एकीकृत समाजवादीका नेताहरुबीचा भेट भएको थियो । आजै माओवादी, जसपा र एकीकृत समाजवादीबीच अर्को छलफल तय भएको नेताहरुले बताएका छन् ।




















